विराटनगरमा कर्फ्यु

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १०:५८

विराटनगर । विराटनगरलगायत मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेका प्रदर्शन, आन्दोलन र सम्भावित अशान्ति रोक्नलाई भन्दै स्थानीय प्रशासनले मंगलबार बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम विहान ११ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । आदेश अनुसार तोकिएका क्षेत्रभित्र सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार सर्वसाधारणले आवतजावत र सवारीसाधन सञ्चालन भने गर्न पाउने व्यवस्था गरिएको छ । आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

प्रदर्शन तथा आन्दोलनका क्रममा हिंसात्मक गतिविधि, हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ । प्रदेशसभा भवन क्षेत्र पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री कार्यालयको उत्तरमा रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक अर्थात् कोभिड अस्पताल, मुख्यमन्त्री निवास क्षेत्र उत्तरमा रोडशेषदेखि दक्षिणमा सिँचाइ मन्त्रालयतर्फ जाने बाटोसम्म कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाटदेखि दक्षिणमा टेलिकम मोड र पश्चिममा गोल्छा आँखा अस्पताल, विराटनगर महानगरपालिका क्षेत्र पूर्वमा शनिहाट चोकदेखि उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक, प्रदेश प्रमुखकाृ कार्यालय क्षेत्र पूर्वमा नहर क्षेत्रदेखि पश्चिममा कोशी राजमार्गसम्म तोकिएको कर्फ्यु लगाइएके छ । त्यस्तै, प्रदेश प्रमुख निवास क्षेत्र उत्तरमा मदननगरदेखि दक्षिणमा मानगढ खानेपानी र पश्चिममा नहर वरपरको ३ सय मिटरभित्र तथा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) वरिपरि ३ सय मिटर क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.