
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरै फैलिएको जेनजी पुस्ताको आन्दोलन आज (मंगलबार) दोस्रो दिन पनि चर्किएको छ । बिहानैदेखि लागू गरिएको कर्फ्यु आदेशलाई अवज्ञा गर्दै ठूलो संख्यामा युवाहरु सडकमा उत्रिएका छन् ।
जेनजीको निशानामा नेताहरुका घर र निवासहरु पर्न थालेका छन् । उनीहरुले नेताको घरलाई लक्षित गरेर प्रदर्शन एवं तोडफोड गर्न थालेका छन् । सबैभन्दा ठूलो भिड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पुगेको थियो ।
प्रदर्शनकारीले निवास वरिपरि घेराउ गर्दै ढोका, पर्खाल र बाहिरी संरचना तोडफोड गरेका छन् । त्यहाँ आगजनी गर्ने प्रयाससमेत गरिएको प्रहरीले पुष्टि गरेको छ ।
त्यस्तै, सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । सुरक्षाकर्मीहरूको उपस्थिति भए पनि भिडलाई तत्काल नियन्त्रणमा लिन सकिएको थिएन ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा पनि ठूलो संख्यामा युवाहरू भेला भएर नाराबाजी गर्दै छन् । उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास वरिपरि पनि प्रदर्शन भइरहेको छ ।
गृहमन्त्री पदबाट सोमबार मात्रै राजीनामा दिएका रमेश लेखकको घरलाई समेत प्रदर्शनकारीले लक्षित गरेका छन् । लेखकको निवासमा भिडले आगजनी गर्न थालेपछि त्यहाँ खटिएका सुरक्षाकर्मी भाग्न बाध्य भएका थिए ।
यसैबीच, नयाँ बानेश्वर, कलंकी, कोटेश्वर, नैकापलगायतका मुख्य क्षेत्रमा पनि युवाहरूले टायर बाल्दै र सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । जेनजी पुस्ताको आक्रोश सोमबारको घटनापछि थप चर्किएको हो ।
सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । ४ सयभन्दा बढी घाइते भएका थिए । भ्रष्टाचार अन्त्य र नेताहरूको जीवनशैली पारदर्शी बनाउनुपर्ने लगायतका माग राख्दै मुलुकभर भइरहेको प्रदर्शनलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिन खोज्दा ठूलो मानवीय क्षति हुन पुग्यो ।
घटनाले आन्दोलनकारीलाई अझै आक्रोशित बनाएको छ । सुरक्षाकर्मीहरू विभिन्न स्थानमा परिचालन भए पनि भिड नियन्त्रण गर्न कठिन भइरहेको समाचार आएका छन् । वातावरण अत्यन्त तनावपूर्ण बनेको छ भने काठमाडौं उपत्यकामा आकस्मिक आवागमनसमेत अवरुद्ध भएको छ ।

























