
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर तोडफोड र आगजनीका घटना भएसँगै नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई क्षति भुक्तानी प्रक्रिया सहज र छिटो बनाउन निर्देशन दिएको छ ।
प्राधिकरणले बिहीबार निर्जीवन बिमा कम्पनी र निर्जीवन लघु बिमा कम्पनीलाई पठाएको निर्देशनमा देशको वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै दाबी भुक्तानीलाई ढिलाइ नगरी सहज र छिटो सम्पन्न गर्न भनिएको छ । गत सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको पहिलो दिनमै करिब २० जना युवा तथा विद्यार्थीको ज्यान गएपछि मंगलबार प्रदर्शनकारीहरूले देशैभर आक्रमण, तोडफोड र आगजनी गरेका थिए ।
सिंहदरबारसहितका प्रमुख सरकारी कार्यालय, सार्वजनिक भवन, निजी व्यवसायिक प्रतिष्ठान, होटल, पसल र सवारीसाधनमा भएको तोडफोड र आगजनीका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नक्सालस्थित हिल्टन होटलसहितका संरचनामा पनि ठूलो क्षति पुगेको छ ।
प्राधिकरणले सार्वजनिक र निजी सम्पत्ति, गाडी, सामुद्रिक, इन्जिनियरिङ, ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र अन्य विविध शीर्षकका बिमा दाबीहरू सहज बनाउन निर्देशन दिएको हो । बिमा कम्पनीहरूले कुन–कुन शीर्षकमा दाबी आएको छ भन्ने विवरण तोकिएको समयमा प्राधिकरणलाई पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, प्राधिकरणले पछिल्लो अवस्थाका कारण बिमा दाबीमा आएको क्षतिको विवरण साप्ताहिक रूपमा नियमित पेस गर्न समेत कम्पनीहरूलाई अनिवार्य गरेको छ ।

























