
विराटनगर । विराटनगरको जेनजी युवाहरुको एउटा समूहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र दुर्गा प्रसाइँको भूमिकामाथि शंका व्यक्त गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जेनजीकाे समूहले आन्दोलनको स्टेक होल्डर नै नभएका दुर्गा प्रसाईंलाई स्टेक होल्डरको रुपमा बोलाएको भन्दै सेनापति सिग्देलको भूमिकाप्रति शंका व्यक्त गरेका हुन् ।
‘प्रधानसेनापति हाम्रो जेनजीका युवाहरुसँग सम्वाद गर्न खोजिरहेका छैनन् । तर, दुर्गा प्रसाईंसँग गर्दैछ,’ जेनजीको समूहले पत्रकार सम्मेलन गर्दै भन्यो,‘ यो आन्दोलन दुर्गा प्रसाईको थियो ? कदापी पनि थिएन ।’
जेनजीको अर्काे समूहले सेनाका कारण प्रधानमन्त्रीको रुपमा सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग सम्वाद हुन नपाएको बताएको छ ।
‘सेनाले अहिले दुर्गा प्रसाईँ र सुशीला कार्कीलाई हेडक्वाटरमा राखेको छ, सुशीला कार्कीसँग प्रत्यक्ष सम्वाद हुन सकेको छैन,’ जेनजीको समूहले भन्यो,‘ जेनजीको प्रतिनिधी र सुशीला कार्कीबीच प्रत्यक्ष सम्वाद होस् ।’
दुवै समूहले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै तत्काल अन्तरिम सरकार गठन गर्न माग गरे । प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने उनीहरुको माग छ ।

























