सर्वोच्च अदालत आइतबारदेखि नियमित सुनुवाइमा फर्किने

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार १९:५४

काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटपछिको असामान्य अवस्थाबाट केही दिन सुनुवाइ प्रभावित भएको छ । अब सर्वोच्च अदालत आइतबारदेखि पुनः नियमित सुनुवाइमा फर्कने भएको छ ।

अदालतको आकस्मिक पूर्ण बैठकले गरेको निर्णयअनुसार आगामी भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ प्रारम्भ हुने सर्वोच्च अदालतले बिहीबार एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

विज्ञप्तिमा जनताको सम्पत्ति मानिने अदालतका मिसिल कागजात र भौतिक स्रोतसाधनलाई जोगाउन निरन्तर खटिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणलाई धन्यवाद प्रकट गरिएको छ । साथै, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा अदालतले व्यक्त गरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतमा भएको आक्रमण, आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै यसबाट नेपालको न्यायिक इतिहासमा सुरक्षित रहेका महत्वपूर्ण दस्तावेज, उपकरण र सवारीसाधनमा अकल्पनीय क्षति पुगेको बताए । उनले अदालत नागरिकको आस्थाको केन्द्र भएकाले त्यहाँ भएको विध्वंसात्मक कार्य अत्यन्तै दुःखद भएको टिप्पणी गरे ।

राउतका अनुसार आक्रमणका कारण करिब–करिब नष्टप्रायः भएका न्यायिक इतिहासका महत्वपूर्ण कागजात गुमाउनु राष्ट्रकै लागि ठूलो क्षति हो । तर, उनले सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूतिमा सर्वोच्च अदालत दृढ रहँदै नागरिकलाई न्याय दिने बाटो कहिल्यै बन्द नहुने स्पष्ट पारे ।

उनले जे जस्तो विपरीत अवस्था भए पनि न्यायको बाटो अविचलित रहने बताउँदै छिट्टै सबै अदालत सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.