हातखुट्टा बाँधेर दिइने जिम्मेवारी नचाहिने सुशीला कार्कीको घोषणा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १४:०६

काठमाडौं । मुलुकको प्रधानमन्त्री बनाउने भनेर चर्चामा रहेकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले हातखुट्टा बाँधेर दिइने जिम्मेवारी नचाहिने घोषणा गरेकी छन् ।

जेनजी आन्दोलनकारीहरूको निरन्तर दबाबबीच कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउनेबारे लगभग एक खालको सहमति भएको छ । तर, भ्रष्टाचारविरुद्धको आन्दोलनमा भएको दमनबारे छानबिन गर्ने विषयमा दलहरूको असहमति देखिँदा अन्तरिम सरकार गठन प्रक्रियामा केही अवरोध सिर्जना भएको छ ।

शीतल निवासमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल उपस्थित रहँदा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई फोनमार्फत छलफलमा जोडिएको थियो । तर, तिनीहरूले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, बल प्रयोगका क्रममा भएको मृत्यु र भ्रष्टाचारसम्बन्धी उजुरीबारे उच्चस्तरीय छानबिन गर्न अस्वीकार गरेका छन् ।

उच्च स्रोतका अनुसार प्रमुख दलहरूलाई यस्तो आयोग गठन भएमा जनतामा दलविरुद्ध आक्रोश अझै बढ्ने चिन्ता थियो । दलहरूले छानबिनको प्रस्ताव अस्वीकार गरेपछि प्रस्तावित प्रधानमन्त्री कार्की असन्तुष्ट हुँदै बैठकमै भनिन्, ‘हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिँदैन ।’

राष्ट्रपति पौडेल भने संविधानको दायरामै रहेर समाधान खोज्ने प्रयासमा निरन्तर सक्रिय देखिएका छन् । उनले बिहीबार दिनभरि र शुक्रबार बिहान ४ बजेसम्म पनि तीनै दलका प्रमुख नेताहरू तथा सभामुख देवराज घिमिरेसँग बैठक गरेर अन्तरिम सरकार गठन प्रक्रिया र आगामी विकल्पबारे लामो छलफल गरेका थिए ।

शुक्रबार दिउँसो पुनः छलफल गर्ने भनिए पनि अहिलेसम्म सरकार गठन प्रक्रियामा ठोस प्रगति हुन सकेको छैन । राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रधान सेनापति अशोकराज सिग्देल शीतल निवास पुगिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.