निर्माणाधीन गृह मन्त्रालयको भवन प्रधानमन्त्रीको कार्यस्थल

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १४:५१

काठमाडौं । सिंहदरबारभित्रको गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनलाई आगामी प्रधानमन्त्रीको कार्यस्थल बनाउने तयारी भइरहेको छ ।

सिंहदरबारभित्र भएको आगजनीपछि सरकारका उच्च अधिकारीहरूले वैकल्पिक व्यवस्थाबारे छलफल गर्दै यस भवनलाई उपयुक्त विकल्पको रूपमा हेरेका हुन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूको टोलीले सिंहदरबारभित्रका विभिन्न भवन निरीक्षण गर्दा अन्य कुनै भवन सुरक्षित र प्रयोगयोग्य नभएको निष्कर्ष निकालेको छ ।

हाल निर्माणाधीन अवस्थामा रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री बस्न मिल्ने गरी व्यवस्थापन गर्न सकिने सम्भावनाका बारेमा छलफलसमेत आएको छ । जेनजी समूहको आन्दोलनमा घुसपैठ गर्दै अराजक समूहले आगजनी र आक्रमण गर्दा सिंहदरबारका अधिकांश भवनहरू क्षतिग्रस्त भएका थिए ।

मन्त्रालयहरूमा आगजनी गरी कागजात जलाइएका छन् भने त्यहाँ रहेका सवारीसाधनमा समेत ठूलो क्षति पुगेको छ । यस घटनालाई सिंहदरबारमाथि अहिलेसम्मकै ठूलो आक्रमण मानिएको छ ।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आउनु पूर्व उनीहरूको कार्यक्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे शुक्रबार विस्तृत अध्ययन गरिएको बताए । उनले भने, ‘सिंहदरबारमै बसेर प्रशासनिक काम गर्ने तयारी भएको छ । त्यसअनुसार कुन भवन कहाँ प्रयोग गर्न सकिन्छ भन्नेबारे निरीक्षण गरिएको हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.