
काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि संसदमा विचाराधीन अवस्थामा रहेका ३० वटा विधेयक स्वतः निष्क्रिय भएका छन् ।
प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार विधेयकमध्ये २१ वटा सरकारी र २ वटा गैरसरकारी विधेयक निष्क्रिय भएका छन् । सबै विधेयक २०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट गठन भएको प्रतिनिधिसभामा प्रस्तुत गरिएका थिए ।
राष्ट्रियसभाबाट उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा आएका ७ वटा विधेयक पनि निष्क्रिय भएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संविधानमा भएको प्रावधानअनुसार यस्तो अवस्था सिर्जना भएको बताए ।
संविधानको धारा १११ को उपधारा १० मा कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुने व्यवस्था छ । यसरी प्रतिनिधिसभा विघटनसँगै दुवै सदनमा प्रक्रियामा रहेका ३० वटा विधेयकहरू अब निरन्तरता नपाएर निष्क्रिय बनेका हुन् ।

























