
विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेकाे काेशी प्रदेशसभा सचिवालयले आइतबारबाट प्रशासनिक काम सुरु गर्ने भएको छ । मंगलबार अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन ध्वसत भएको थियो । प्रदेशसभा सचिवालयको भवनमा पनि आगजनी र तोडफोड भएको थियो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभा सचिवालय परिसरमा रहेको मिडिया सेन्टरको कोठाबाट प्रशासनिक काम सुरु हुनेछ । मिडिया सेन्टरको कार्यकक्षमा तोडफोड भएपनि आगजनी भएको छैन । आगजनी नभएका कारण टेबल कुर्सी राखेर प्रशासनिक काम सुरु गर्न लागिएको हो ।
प्रदेशसभा भवन पूर्णरुपमा जलेका कारण प्रदेशसभाको काम कारवाही सञ्चालनको विषय भने अन्योल छ ।
प्रदेशसभा सचिवलायका निमित्त सचिव गौतमराज अमात्यका अनुसार प्रदेशसभा भवन शून्य अवस्थामा पुगेको छ । सचिवालय पनि लगभग शून्य अवस्थामा पुगेको छ । ‘आगलागी भएपछि राम्रा सामन लिएर हिडे, दक्षिण पट्टीको पर्खाल भत्कीएको छ ,’उनले भने,‘ हामी अहिले शुन्यमा झरेका छौं, शून्यबाट उठ्नु पर्नेछ ।’
अराजक समूहले प्रदेशसभा सचिवालय परिसरमा आगजनी गर्दा ९ वटा सचिवालयका गाडी जलेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि २ वटा सवारी जलेको छ । आगजनीका कारण प्रदेशसभाको सबै सामग्री जलेर नष्ट भएको छ ।
सचिवालयको भुइ तल्ला र पहिलो तत्लामा आगजनी भएको छ । आगोले नभेटेको सामग्री लुटपाट भएको थियो । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको थियो ।
सचिवालयको सामग्री लुटपाट भएपछि प्रदेशसभा सचिवालयले फिर्ता गर्न सूचना जारी गरेको छ । शनिबार प्रदेशसभा निमित्त सचिव अमात्यले सूचना जारी गर्दै सामग्री फिर्ता गर्न आग्रह गरेका हुन् ।
‘आगलागी र तोडफोडका क्रममा कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी टिभी कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधनसमेत सचिवालय परिसरबाट लुटपाट चोरी भएको छ,’ सचिवालयले भनेको छ,‘ कसैले उल्लेखित सामान देख्नु भएमा वा कुनै कारणवाट भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस प्रदेश सभा सचिवालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।’

























