
विराटनगर । जेन-जी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्ने प्रयास गर्दा झापाकाे दमकस्थित मालपोत र नापी कार्यालयलाई सर्वेक्षक नारायण सापकोटाले जाेगाएका छन् । मंगलबार अराजक समूहले आगजनी गर्न खाेज्दा उनले जाेगाएका हुन् ।
मंगलबार आन्दोलनकारीको एक समूहले दमकस्थित मालपोत कार्यालयमा आगजनीको प्रयास गरेको थियो, जसलाई स्थानीय र कार्यालयका कर्मचारीहरूको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तर, केही समयपछि अर्को अराजक समूहले पुनः मालपोत कार्यालयमा तोडफोड गर्दै आगजनी गर्ने प्रयास गर्यो । आगजनीका लागि कार्यालय भित्र प्रवेश गरेकाहरूलाई नापी कार्यालयका सर्वेक्षक नारायण सापकोटाले सम्झाएर पठाए ।
ललितपुर घर भई पाँच महिनाअघि दमक सरुवा भएका सर्वेक्षक सापकोटाले आन्दोलनकारीकै रूपमा प्रस्तुत भई उनीहरूलाई सम्झाएका थिए [ ‘उहाँहरु आगजनी गर्ने हिसाबले आउनु भएको थियो, यो हाम्रै सम्पति हो, यसो नगराै भनेर सम्झाउने प्रयास गरे,’ सापकोटाले भने,‘ दमकका सबै कार्यालय आगजनी हुँदा मालपोत र नापीलाई जोगनउन सफल भइयो ।’
उनी अराजक समूहलाइ राेक्न आन्दाेलनकारी कै रूपमा उपस्थित भएका थिए । ‘सबैको भ्रष्टलाई कारवाही गर्नुपर्छ, तर यो कागजातले हामीला नोक्सन गर्दैन, सधैका लागि चाहिन्छ भन्दै सम्झाए,’ उनले भने,‘ हाम्रो प्रयास गर्दा कार्यालय जाेगियाे ।’
मालपोत कार्यालय दमक शाखा प्रमुख लक्ष्मीप्रसाद खरेलका अनुसार, कार्यालयका फर्निचर र केही उपकरणमा क्षति पुगे पनि ठूलो आगजनी हुनबाट रोकिएको छ । खरेलले कार्यालय जोगाउन सर्वेक्षक नारायण सापकोटा, अमर राई र स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण रहेको बताए [

























