
विराटनगर । जेनजी युवाहरुकाे आन्दाेलनका क्रममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका लगभग शून्य अवस्थामा पुगेको छ ।
आन्दोलनकारीले कार्यालयका कागजात, दस्ताबेज र अत्यावश्यक सवारी साधन जलाएका छन् ।
महानगरपालिकामा उपप्रमुख शिल्ला निरला कार्कीको कार्यकक्ष बाहेक सबै महानगरको सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ ।
‘सबै क्षति पुगेको छ, लगभग शून्य अवस्थामा आइपुगेको छ,’ महानगरका प्रमुख प्रशासकिय अधिकृत योगेन्द्रप्रसाद दुलालले भने,‘ अहिले नै सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनौं ।’
अराजक समूहको आगजनीको निसानामा महानगरको अत्यवश्यक सवारी साधन पनि परेका छन् । डोजर, मिनि ट्रकलगायत विपदम प्रयोग हुने सवारी जलेका छन् । महानगरपालिकाले पाकिङ गरेर राखेका सबै सरकारी जलेका छन् । कार्यालय भित्र र बाहिर भएको क्षतिको विवरण संकलन भएको छैन । आजबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ गर्ने दुलालले बताए ।
उपप्रमुख शिल्पा निरला कार्कीका अनुसार साधनस्रोतका हिसाबले महानगरपालिका शून्य अवस्थामा आइपुगेको छ । ‘गाडीहरु सबै जलेको छ, फोहोर उठाउनेदेखि पानी हाल्नेदेखि विद्युतको गाडी सबै जलाइएको छ,’ उनले भनिन,‘ अहिले हामी जिरोमा आइपुगेका छौं, साधनस्रोतका शिसाबले ।’
कर्मचारीलाई बस्ने टेबल कुर्सी र कार्यालयका दस्ताबेज जलेको उनले बताइन् । जलेको खरानीबाट कसरी उठ्ने भन्ने अन्योलमा छ महानगरपालिका । कार्यालय सुरु गर्दा चाहिने न्यूनतम सामग्री पनि महानगरपालिकासँग छैन ।
‘सेवा प्रवाह गर्दा सबै कुरा चाहियो, तर हामीसँग केही छैन, अहिले सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनौं ।’ उनले भनिन्,‘मेरो कार्यकक्ष बाहेक कुनै कार्यकक्ष सहिसलामत छैन ।’
महत्पपूर्ण कागजात भएको नक्साफाट, राजस्वा फाट, घरजग्गा फाटमा छानीछानी आगजनी भएको छ । प्रमुख प्रशासकिय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार महानगरसँग रेकर्डमा रहेका अधिकांश कागजात र जलेका नष्ट भएको छ ।

























