
विराटनगर । १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस ताप्लेजुङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
रेडपाण्डा नेटवर्कको सहयोग र हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी रूपमा अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । दिवस मनाउने क्रममा भदौ १८ देखि २९ गतेसम्म रेडपाण्डाको संरक्षणदेखि कवितालगायतको कार्यक्रमको आयोजना गरिएको थियो ।
ताप्लेजुङको रेडपाण्डाको वासस्थान नजिकै रहेका विद्यालयमा रेडपाण्डा दिवस मनाइएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
उनका अनुसार सप्ताहव्यापी कार्यक्रम अनुसार फुङ्लिङ, फक्ताङलुङ, सिरिजंगा र पाथीभरा याङवरक गाउँपालिकाका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो ।
ताप्लेजुङका दश विद्यालयमा रेडपाण्डा इको क्लब सञ्चालित छन् । क्लबको सक्रियतामा रेडपाण्डा संरक्षण र महत्वका विषयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
सो अवसरमा विद्यार्थीलाई रेडपाण्डा संरक्षणप्रति सचेत बनाउन विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरियो । जिल्लामा करिब ७७ देखि १ सय ३४ वटा रेडपाण्डा छन् । लामो समयदेखि रेडपाण्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपाण्डाको संख्या पनि बढेको मञ्चले जनाएको छ ।























