
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई सोमबार शपथ गराएका थिए । शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रअनुसार खनाल पहिलो नम्बरमा रहेका छन् ।
त्यस्तै, दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल रहेका छन् । बाँकी मन्त्रालयहरू प्रधानमन्त्रीको सिधा मातहत रहने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । शपथपछि तीनैजनाले पदभार ग्रहण गरेका छन् । यसरी वरीयताको क्रम निर्धारणसँगै मन्त्रिपरिषद्को औपचारिक कार्यभार पनि सुरु भएको छ ।
अर्थमन्त्री खनालको पहिलो वरीयता र अन्य मन्त्रीहरूको क्रमले आगामी दिनमा नीति र निर्णय प्रक्रियामा सरकारको प्राथमिकतामा स्पष्ट संकेत दिने देखिन्छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेका अन्य मन्त्रालयहरू प्रत्यक्ष मातहतमा रहँदा सरकारको समग्र निर्णय प्रक्रियामा उनीहरूको निर्णायक भूमिका रहनेछ ।

























