
विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले दिउँसो २ः३० बजेतिर मानव कंकालका रुपमा शव फेला परेको जानकारी दिए । ‘पूरै शरीर नभएर जलेको हड्डीहरु भेटिएको हो,’ उनले भने । जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो ।
जलेर खरानी भएको भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् । घटनाको जानकारी पाएलगत्तै एसपी चिमरिया नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
चिमरियाले मानव कंकाल पुरुषको हो कि महिलाको भनेर छुटयाउन नसकिएको जानकारी दिए । उनका अनुसार भाटभटेनीको दोस्रो तलामा पूर्णरूपले जलेर नचिनिने अवस्थामा शरीरका हड्डीहरु मात्रै भेटिएको हो ।
भाटभटेनीमा आगजनीसँगै लुटपाट र तोडफोड पनि गरिएको थियो । आगलागीका बेला सामान चोरी गर्न गएकाको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
कंकाल पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएर कंकाल परीक्षणका लागि कोशी अस्पताल लगिएको छ । एसपी चिमरियाले अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।
यसअघि धरानको भाटभटेनीमा पनि ४ जनाको शव फेला परेको थियो । आन्दोलनका नाममा विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी एवं तोडफोड गर्नुका साथै लुटपाटसमेत मच्चाइएको थियो ।

























