कार्यालय ध्वस्त भएसँगै भुइँमा बस्यो इटहरी उपमहानगरपालिकाको बैठक

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १५:५८

विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेपछि कार्यालय सञ्चालनमा चुनौती उत्पन्न भएको छ ।

भवन र संरचना प्रयोग गर्न नसकिने अवस्थामा पुगेपछि मंगलबार उपमहानगरपालिकाको कार्यपालिका बैठक कार्यालयको आँगनमा भुइँमै बसेर सञ्चालन गरिएको छ । मेयर हेमकर्ण पौडेल, उपमेयर संगीताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत र अन्य कार्यपालिका सदस्यहरू कार्यालय परिसरको खाली मैदानमा भुइँमै बसेर बैठकमा सहभागी भएका थिए ।

यही दृश्यले आन्दोलनपछिको नगर प्रशासनको दयनीय अवस्था देखाएको छ । भदौ २४ गते प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयसहित मेयर पौडेलको निजी घरमा पनि आगजनी गरेका थिए ।

आगजनीपछि कार्यालयका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजात र अन्य सामग्री जलेर नष्ट भएका छन् भने भवनभित्रका अधिकांश कोठामा झ्यालढोका फुटाइएका छन् । सूचना प्रविधि शाखा र प्रशासनिक कक्षमा रहेका कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका विद्युतीय सामग्री जलेर नष्ट भएका छन् ।

कर्मचारीहरूले प्रयोग गर्ने मोटरसाइकल र सवारीसाधनमा पनि आगजनी गरिएको थियो । भुइँमै बसेर गरिएको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, क्षतिको विवरण संकलन गर्ने र असोज ४ गतेबाट कार्यालय सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

मेयर पौडेलले भने, ‘हामीलाई धम्क्याएर वा भवन जलाएर इटहरी चल्न रोकिने होइन । नगरवासीका सेवा कुनै हालतमा बन्द हुने छैन ।’ उपमेयर चौधरीले यस घटनाले स्थानीय सरकारलाई कमजोर बनाउन खोजिएको बताइन् ।

सुनसरी प्रहरीले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नको पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार केही व्यक्तिहरूले आन्दोलनलाई अराजकतातर्फ मोडेर उपमहानगरलाई निशाना बनाएका थिए ।

जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकासहित कोशी प्रदेशका दर्जनौं सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । इटहरी उपमहानगरपालिकामा समेत व्यापक क्षति भएको हो ।

सामान्य प्रशासनदेखि नगरको सूचना प्रवाह प्रणाली ठप्प भएपछि नगरवासीलाई सेवा दिन कठिन भएको छ । भुइँमै बसेर भए पनि बैठक सञ्चालन गरेर उपमहानगरले ‘सेवा अवरुद्ध हुँदैन’ भन्ने सन्देश दिने प्रयास गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.