
काठमाडौं । जेनजी आन्दोलनका नाममा मुलुकका भौतिक संरचना ध्वस्त पारिए पनि सरकारले यस वर्षको संविधान दिवस औपचारिकरूपमै मनाउने तयारी गरेको छ ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको स्मरणमा हरेक वर्षजस्तै यसपालि पनि देशभर विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सरकारले संविधान दिवस मुल समारोह समितिको अध्यक्षतामा प्रधानमन्त्री रहने परम्परा अनुसार यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समिति गठन गरिसकेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार समितिको बैठक सम्पन्न भइसकेको छ र संविधान दिवस भव्यताका साथ मनाउन सबै निकायलाई परिपत्र गरिसकेको छ । मुल समारोह समितिको आयोजनामा यसवर्ष पनि काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुनेछ ।
गृह मन्त्रालयका सहसचिव एवं आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीका अनुसार समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक पदाधिकारी तथा विशिष्ट व्यक्तिहरूलाई निमन्त्रण पठाइसकिएको छ । संविधान दिवसका अवसरमा मुल समारोहलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति पौडेल रहनेछन् । संविधान दिवस मुल समारोह समितिमा प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीहरू, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, अनुसन्धान विभाग प्रमुख, उपत्यकाका नगर प्रमुख तथा विभिन्न निकायका उच्च पदाधिकारीहरू सदस्य रहने व्यवस्था छ ।
समितिको सदस्य–सचिव गृह सचिव रहनेछन् । उपत्यकाबाहिरका जिल्ला सदरमुकाममा समेत संविधान दिवसको कार्यक्रम आयोजना हुनेछ ।
त्यहाँ जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा स्थानीय पालिका प्रमुख तथा सरोकारवालाहरूको सहभागितामा समिति गठन गरिने व्यवस्था मिलाइएको छ । स्थानीय तहस्तरमा भने सम्बन्धित पालिका प्रमुख वा अध्यक्षकै अध्यक्षतामा संविधान दिवस कार्यक्रम सञ्चालन हुनेछ ।
यसरी विषम परिस्थिति र राजनीतिक अन्योलबीच पनि सरकारले संविधान दिवसलाई निरन्तरता दिने र मुलुकभर औपचारिकरूपमा मनाउने तयारी गरेको हो ।

























