
विराटनगर । विराटनगरसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबार केही स्थानमा भारी वर्षाको सम्भावना छ, धेरै स्थानमा मध्यम वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।

























