
सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार ट्रकमा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई बिहान ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी पाउनसाथ सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा नेतृत्वको टोली घटनास्थल पुगेर उद्धारमा जुटेको थियो ।
त्यसअघि नै घटनास्थलमा इलाका प्रहरी कार्यालय लौकहीबाट वरिष्ठ सइ अशोक कोइराला नेतृत्वको टोली पुगेको थियो । दुर्घटनामा परेर करिब ३५–४० वर्षीय पुरुष र करिब ४०–४५ वर्षीया महिलाको मृत्यु भएको डीएसपी खतिवडाले बताए ।
उनका अनुसार पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा १०ः३० बजेतिर र महिलाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा १०ः४५ बजेतिर मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र सनाखतको प्रयास भइरहेको जानकारी खतिवडाले दिए ।
दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । घाइतेहरु सप्तरी र सिराहाका छन् । घाइतेमध्ये इनरुवा अस्पतालमा सप्तरी रुपनी नगरपालिका–९ का २५ वर्षीय प्रकाश सरदार र उनकी पत्नी पुनम सरदार, सप्तरीकै खडक नगरपालिका–५ की करिब ५० वर्षीया ज्ञानदेवी चौधरी, सिराहाको धनगढीमाई नगरपालिका–३ की ५२ वर्षीया बानेश्वरीदेवी चौधरी, ३५ वर्षीया केशीदेवी चौधरी, धनगढीमाई–१ की ५५ वर्षीया शान्तिदेवी चौधरीको उपचार भइरहेको छ ।
त्यस्तै इनरुवा अस्पतालमा सप्तरी खडकका ४० वर्षीय दिनेशकुमार चौधरी, ३६ वर्षीया चन्द्रिका चौधरी, सिराहाको लहान–१ का ५० वर्षीय प्रभानन्द चौधरी र सप्तरी सुरुङ्गा गरपालिका–९ का ३६ वर्षीय पुरुषोत्तम चौधरीको उपचार भइरहेको छ । घाइतेमध्ये ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा सप्तरी कञ्चनपुर–११ की ४५ वर्षीया मञ्जु चौधरी, सिराहा लहान–२३ का ५५ वर्षीय सुखदेव साह, कञ्चनपुरका ५० वर्षीय सत्यनारायण राम, सप्तरी सुरुङ्गा–७ की ४० वर्षीया परमेश्वरीदेवी राम र छोरा २० वर्षीय श्रवणकुमार रामको उपचार भइरहेको छ ।
त्यस्तै, सोही अस्पतालमा सिराहाको लहान–९ का ५५ वर्षीय लोचन पासवान, सप्तरी सुरुङ्गा–७ की ३५ वर्षीया सैरुल खातुन, सिराहा लहान–११ का ४२ वर्षीय शिवितराम चौधरी, सिराहा लहान–७ का ४४ वर्षीय सन्तोषकुमार मण्डलको उपचार भइरहेको छ । उपचाररत २ जनाको नाम खुल्न बाँकी छ । नाम खुल्न बाँकी रहेकाको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचाररत रहेको डीएसपी खतिवडाले बताए ।
दुर्घटनापछि करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । हाल दुर्घटनामा परेका सवारीसाधन हटाएर प्रहरीले राजमार्ग खुलाएको छ । बस र ट्रक क्षतिग्रस्त भएका छन् ।

























