
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएका हतियारबाट गोली चलाइएकाे दाबी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयाेग भएकाे दाबी गरेका हुन् । उनले आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् ।
ओलीले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको पनि प्रस्ट पारेका छन् । ओलीले भनेका छन्– ‘आन्दोलनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु। ‘
ओलीले थप भनेका छन्–’ प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।’
‘हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ’ ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

























