
विराटनगर । विराटनगरमा बिहीबार राति भेटिएको एउटा बेवारिसे कारबाट ५ सय ३८ किलोग्राम गाँजा बरामद भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका–८ स्थित यादव चोकदेखि भातीगछ जाने सडकको साइडमा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार बेवारिसे अवस्थामा फेला परेको थियो । बिहीबार राति १०ः१५ बजेतिर फेला परेको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारभित्र गाँजा लोड गरेको पाइएको चिमरियाको भनाइ छ ।
प्रहरीलाई देखेपछि गाँजा लोड गरिएको कार छाडेर चालक फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले कारभित्र १५ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको थियो ।
बोरामा रहेको गाँजा निकालेर तौल लिँदा ५ सय ३८ किलो भएको एसपी चिमरियाले बताए । कारलाई नियन्त्रणमा लिएर गाँजा बरामद गरिएको भए पनि चालक फरार बनेका छन् ।
फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त गाँजा कसले ल्याएको र कहाँ लगिएको हो भनेर यकिन छैन । तर, भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।


























