आगजनीपछि स्मार्ट लाइसेन्स सेवामा संकट, डेटा भने जोगियो

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३, शुक्रबार १५:२९

काठमाडौं । मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीपछि स्मार्ट लाइसेन्स सेवा ठप्प भएको छ । तर, विभागले भने सेवाको मूल डेटा सुरक्षित रहेको भन्दै छिट्टै सेवा पुनः सुरु गर्ने तयारी गरेको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किँदा विभागको कार्यालयमा आगजनी भयो । सो क्रममा स्मार्ट लाइसेन्स छाप्ने मेसिन, इम्बोस्ड नम्बरका सम्पूर्ण रेकर्ड र छापिसकेर राखिएका करिब १२ लाख लाइसेन्समध्ये ६ लाख थान जलेर नष्ट भए । बाँकी ६ लाख थान लाइसेन्स भने सुरक्षित रहेका छन् ।

आगलागीले सम्पूर्ण प्रणाली तहसनहस भए पनि ब्याकअपमा राखिएको डेटा सुरक्षित रहनु सेवाग्राहीका लागि राहतको विषय बनेको छ । शुक्रबार विभाग परिसरमा आयोजित सरसफाइ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले डेटा रिकभर गरेर पुनः सेवा सञ्चालन गर्न सकिने जानकारी दिएका थिए ।

मन्त्री घिसिङले अत्यावश्यक सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन अब राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग सहकार्य गर्ने तयारी भइरहेको बताए । उनका अनुसार परिचयपत्र छाप्ने मेसिनबाटै स्मार्ट लाइसेन्स छाप्न सकिने भएकाले विशेषतः विदेश जानेहरूलाई तत्काल लाइसेन्स वितरण गर्न सकिनेछ ।

हाल विभागसँग अझै २५ लाख थान स्मार्ट लाइसेन्स छाप्ने काम बाँकी छ । त्यसका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा तत्काल टेन्डर आह्वान गरिने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.