कोशीमा संविधान दिवस : भग्नावशेषबाट संविधान रक्षाको आह्वान

Share this
710shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असोज ३, शुक्रबार १८:०४

विराटनगर । विगतमा झाँकी र तामझामसहित उत्साहपूर्वक हिसाबले मनाइने संविधान दिवस यसवर्ष कोशी प्रदेशमा औपचारिकतामा सीमित हुन पुग्यो ।

जेनजी आन्दोलनको आवरणमा अराजक समूहले प्रदेश सरकारका संरचना र सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गर्दा मन्त्रालयका भवनहरू ध्वस्त भएका थिए । त्यसैले यसवर्षको संविधान दिवस विगतजस्तो उत्साहपूर्ण हुन सकेन । औपचारिकतामै सीमित भएर भएपनि संविधान दिवस मनाउने कार्यक्रमले भने निरन्तरता पायो ।

संविधान देशको मूल कानुन एवं आधारभूत नियमहरुको संग्रह हो । राज्यको शासन प्रणाली, संरचना, जनताको अधिकार, स्वतन्त्रता, कर्तव्य र सरकारको जिम्मेवारी निर्धारण गर्ने मूल कानुनी दस्ताबेज जारी भएको दिनलाई एउटा उत्सव एवं अविस्मरणीय क्षणका रूपमा मनाउने गरिन्थ्यो ।

तर, उत्सवका रूपमा संविधान दिवस मनाउन सम्भव भएन, र थिएन पनि । आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा शुक्रबार बिहान प्रवेश गर्दा पहिलो नजर नै जलेका गाडी र कालो धुवाँमा फसेका भित्ताहरूमा पुगे ।

केही कोठा र भित्ता भग्नावशेषका रूपमा अगाडि उभिएका थिए । जलेका सामान, ढलेको संरचना, आगोले ध्वस्त बनाएका सवारीसाधन र वरिपरिको खरानीले घटनाको पीडा दर्शाउँदै थियो । त्यही वातावरणबीच सरकारले संविधान दिवसको अवसर पारेर मन्त्रालयको आँगनमा आयोजना गरेको छोटो कार्यक्रम सुरु भयो ।

कार्यक्रमको मञ्चमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, केही मन्त्रीहरू, कर्मचारी तथा सुरक्षा अधिकारीहरू उपस्थित थिए । तर, प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट भने अनुपस्थित रहे । उपस्थित भएकाहरु कुर्सीमा बसेको दृश्यले जलेको एवं तोडफोड गरिएको भवन र धुवाँको गन्धबीच संविधानको संरक्षणमा एकमत भएजस्तो झल्को दिन्थ्यो ।

अर्थात्, यसअघिको घटनाको पीडाबीच दिवस मनाउँदै भग्नावशेषबाट संविधान रक्षाको आह्वान गरिएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमलाई मुख्यमन्त्री कार्कीले छोटो संवोधन गरे । उनले नयाँ पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनको सम्बोधन छोटो भए पनि त्यसको अर्थ ठूलो थियो । कार्कीले संविधान दिवसको अवसरमा सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई ऐतिहासिक संविधानको रक्षा एवं लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एकजुट भएर अघि बढ्न आह्वान गरे ।

कार्यक्रम सुरु भएको करिब १५ मिनेटमै सम्पन्न भयो । सहभागीहरूले नेताहरू अब प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने बताउँदै भावनात्मक प्रतिक्रियाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् । मानव अधिकार सञ्जालका अध्यक्ष बासु अधिकारीले भने, ‘खरानीमाथि पनि आशाको हरियो अंकुर पलाउन सक्छ । संविधान दिवसको सन्देश नै यही हो ।’

संविधान दिवस मनाउने क्रममा उपस्थित व्यक्तिहरूले विगतका संघर्ष सम्झिए । निर्वाचित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी संविधानले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार बनाएको छ । यसको रक्षा सबैको साझा जिम्मेवारी भएको अधिकारीले बताए ।

कार्यक्रममा सरकारका मन्त्रीहरू, कर्मचारी, सुरक्षा अधिकारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । जलेको भवन बाहिर आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले राष्ट्रिय एकता कायम राख्न र संविधानको रक्षा गर्न आग्रह गरे । उनले भने, ‘आवेग, उत्तेजना र प्रतिशोधको भावनाभन्दा माथि उठेर काम गर्नुपर्छ । राजनीतिक स्थिरताका लागि समाजमा अमनचयन, शान्ति, सुव्यवस्था कायम गर्न र आपसी सद्भाव थप सुदृढ गर्न आवश्यक छ ।’

संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरू संविधान संशोधनमार्फत समाधान गर्न सकिने उनले बताए । ७ दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप प्राप्त ऐतिहासिक उपलब्धि संविधान भएको भन्दै मुख्यमन्त्री कार्कीले यसको रक्षाका लागि सबैलाई हातेमालो गर्न आह्वान गरे ।

उनले कोशी प्रदेश सरकारले संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम राख्दै भ्रष्टाचार निवारणका लागि काम गरिरहेको जानकारी दिए । साथै, समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रदेश सरकारले योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सिप सदुपयोग गर्दै राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘युवाहरूको सृजनशील ऊर्जा र क्षमता नै प्रदेशको प्रगतिको आधार हो,’ उनले भने ।

कार्यक्रम छोटो भए पनि उपस्थित सबैमा आशा र जिम्मेवारीको भावनाले प्रभाव भने गहिरो पार्यो । जलेका भवनका भग्नावशेष, धुवाँमा फसेका भित्ताहरू र खरानीबीच संविधान दिवस मनाएर संविधानको रक्षा एवं लोकतन्त्रको मजबुतीका लागि सबैले हातेमालो गर्नुपर्ने सन्देश प्रवाह गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

‘यसवर्ष विगतमा जस्तो उत्साहपूर्वक हिसाबले कार्यक्रम आयोजना गर्न सम्भव थिएन । जेनजी आन्दोलनका नाममा गरिएको आगजनीका कारण संविधान दिवस औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आयो । तर, यसले पीडाको बीचमा पनि आशाको किरण जगाउन सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । यही सन्देशले आगामी दिनमा प्रदेश सरकार र समाजलाई एकजुट भएर संविधानको रक्षा गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ,’ उनले भने ।

कोशी प्रदेश सरकारले जलेको भवन बाहिर संविधान दिवस मनाउँदै इतिहासको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकलाई सचेत रहन आह्वान गरेको मन्त्री भण्डारी बताउँछन् । ‘प्रदेश सरकारका भवनहरु जलेका छन् । तर, लोकतन्त्र र संविधानको उज्यालो जीवितै छ,’ उनले भने । पीडाबीच आशा खोज्दै संविधान दिवस मनाएर प्रतिरोधभन्दा माथि उठ्नुपर्ने र सबै एकताबद्ध हुनुपर्ने सन्देश प्रवाह गरिएको भण्डारीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.