झापामा मृत भेटियो जंगली हात्ती

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार ११:४७

झापा । झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा शनिबार बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीयले बिहान सबेरै धान खेतमा मृतावस्थामा हात्तीलाई देखेपछि वन कार्यालयलाई जानकारी दिएका थिए । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती पोथी हो र यसको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।

‘हामीले घटनास्थलमा प्राविधिक टोली पठाइसकेका छौं । पोस्टमार्टमपछि मात्र मृत्युको कारण थाहा हुन्छ,’ उनले भने । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती करिब २२ वर्ष उमेरको भएको बताएका छन् ।

उनका अनुसार शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जंगली हात्तीको बथान प्रवेश गरेको प्रारम्भिक जानकारी छ । लुइँटेलले भने, ‘हिजो बेलुका बथान आएको थियो । आज बिहान भने एउटा हात्ती मृत भेटिएको छ ।’

प्रारम्भिक अनुमानका आधारमा हात्तीको मृत्यु प्राकृतिक कारण वा अन्य कुनै आकस्मिक घटनाले भएको हुनसक्ने बताइएको छ । तर, मृत्युको वास्तविक कारण प्रष्ट पार्न पशु चिकित्सकको विस्तृत परीक्षण पर्खनुपर्ने वन कार्यालयले जनाएको छ ।

झापामा पछिल्ला वर्षहरूमा मानव–हात्ती द्वन्द्व, कृषिमा क्षति र हात्तीको मृत्यु जस्ता घटनाले चुनौतीपूर्ण अवस्था देखाएको संरक्षणविद्हरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.