विराटनगरबाट फर्किएका पुरुष घरनजिक मृत फेला

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १२:२१

विराटनगर । विराटनगरबाट मोरङको जहदा गाउँपालिका–५ केवरत टोलस्थित आफ्नो घर फर्किएका पुरुष शनिबार बिहान मृत फेला परेका छन् ।

जहदा–५ का ४५ वर्षीय हरि राय मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रायले विराटनगरको एउटा कस्मेटिक पसलमा काम गर्ने गरेको पाइएको छ ।

पसलबाट काम सकेर फर्किएका उनको घरनजिक खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले प्राप्त गरेको जानकारी अनुसार पसलमा काम गरेर उनी प्राय सधैं राति ११ बजेपछि घर पुग्ने गरेका थिए ।

शुक्रबार भने उनी घर पुगेनन् । घर नपुगेपछि खोजी गर्ने क्रममा परिवारका सदस्य र स्थानीयले घरनजिकको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट बिहान ६ः२० बजेतिर शव फेला पारेका हुन् ।

घटनास्थलमा उनी चढ्ने साइकल पनि फेला परेको प्रहरीले जनाएको छ । ‘रातको समयमा साइकलमा घर फर्किदै गरेका बेला लडेर खाल्डोमा परेपछि उठ्न नसक्दा त्यहीँ डुबेर मृत्यु भएको हुनसक्छ । खाल्डो करिब २ फिट गहिरो रहेछ,’ प्रहरी स्रोतले भन्यो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । ओली नेतृत्वकै टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको वास्तविकता अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.