
रौतहट । रौतहटमा तरकारी बोक्ने गाडी प्रयोग गरेर भारततर्फ लैजाँदै गरिएको गाँजा प्रहरीले बरामद गरेको छ । गाँजा ३ क्वीन्टल बढी छ ।
शनिबार राति इशनाथ नगरपालिका–८ मोतिपुर सडकखण्डमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको थियो । गाडीमा काउली राखिएको देखिए पनि चेकजाँच गर्दा तरकारीको भित्रतिर २६ वटा पोकोमा बाँधिएको ३ सय ३४ किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार १९ पोकोमा १५ किलोका दरले २ सय ८५ किलो र बाँकी ७ पोकोमा ७ किलोका दरले ४९ किलो गरी जम्मा ३ सय ३४ किलो गाँजा बरामद भएको हो । उक्त गाँजा माथिबाट करिब २० किलो काउलीले छोपेर लुकाइएको थियो ।
गाडी मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोकेको हो । तर, प्रहरीले गाडी नियन्त्रणमा लिन खोज्नेबित्तिकै चालक फरार भएका थिए ।
बरामद गरिएको गाँजा र गाडी अहिले प्रहरी नियन्त्रणमा राखिएको छ । फरार चालक र गाँजा तस्करको खोजी तीव्र बनाइएको डीएसपी कार्कीले बताए ।

























