प्रधामन्त्री मातहत ल्याइएका विभागलाई मन्त्रालयमै फर्काउने तयारी

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १३:२८

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहेका ३ संवेदनशील विभागहरूलाई सरकारले पुनः सम्बन्धित मन्त्रालयमातहत फर्काउने तयारी गरेको छ ।

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत लैजाने र सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा राख्ने प्रस्ताव पारित गर्ने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन १६ गते शक्ति एकीकृत गर्ने उद्देश्यले यी विभागहरू प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए ।

त्यसअघि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय र अन्य ३ विभाग अर्थ मन्त्रालय मातहत थिए । तर, विभागहरू प्रधानमन्त्री मातहत गइसकेपछि सुरक्षा संयोजनमा कमजोरी देखिएको भन्दै आलोचना हुँदै आएको थियो ।

भदौ २३ र ३४ गतेको आन्दोलनका क्रममा पनि यसको स्पष्ट प्रभाव देखिएको सरोकारवालाहरू बताउँछन् । त्यस्तै, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत पुगेपछि गम्भीर अनुसन्धानभन्दा बढी असुली धन्दा चलाउने अड्डा बनेको आरोप लाग्दै आएको थियो ।

अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने यी निकायहरूले स्वतन्त्र निकायजस्तो व्यवहार गर्दा अनुसन्धान प्रक्रियामा अव्यवस्था र असहजता बढेको स्रोतको दाबी छ । ‘यी विभागहरू सम्बन्धित मन्त्रालयमै फर्काउन कार्यविभाजन नियमावलीमा संशोधन गर्नुपर्ने हुन्छ । त्यसअनुसार प्रस्ताव तयार भइसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार विगतमा विभागहरूलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा सुशासनभन्दा बढी शक्ति केन्द्रीकरण र आर्थिक लाभलाई प्राथमिकता दिइएको थियो । अब भने त्यसमा सुधार गर्ने प्रयास गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.