
विराटनगर । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते आगजनी र तोडफोड हुँदा विराटनगर महानगरपालिकाले व्यापक क्षति बेहोरेको छ ।
अहिले महानगरले क्षतिग्रस्त संरचनाबाटै आंशिक सेवा सुरु गरेको छ । आगजनी र तोडफोडका कारण कार्यालय सञ्चालन लगभग शून्य अवस्थामा पुगेको थियो । विराटनगरमा १९ वटा वडा छन् ।
उपमेयर शिल्पा निराला कार्कीका अनुसार आगजनी एवं तोडफोडबाट महानगर र १३ वटा वडा कार्यालयमा क्षति पुगेको छ । आगजनीका कारण १३ वटामध्ये ५ वटा वडा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताइन् । अन्यमा आंशिक क्षति पुगेको छ ।
आन्दोलनका क्रममा कार्यालयका कागजात, दस्तावेज, अत्यावश्यक सवारी साधन, डोजर र मिनी ट्रक जस्ता विपद् प्रयोजनका साधन समेत जलाइएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार आगजनीले व्यापक क्षति पुगेका कारण अहिले नै पूर्णरूपमा सेवा सञ्चालन गर्न सक्ने अवस्था छैन ।
‘आगोले खरानी बनाउँदा महानगर लगभग शून्य अवस्थामा पुगेको छ । सबै संरचना र कागजातहरु जलेका छन् । केही वडा कार्यालय पनि ध्वस्त पारिएको छ । क्षतिग्रस्त कार्यालयबाटै आंशिक सेवा सुरु गरिएको छ । पूर्णरूपमा सेवा सञ्चालनमा आउन समय लाग्छ,’ उनले भने । दुलालका अनुसार साधन स्रोतको हिसाबले महानगरपालिका शून्य अवस्थामा आइपुगेको छ ।
गाडी, फोहोर उठाउने, पानी हाल्नेदेखि विद्युतका सबै साधन जलेका छन् । कार्यालयभित्र र बाहिर प्रयोग हुने टेबल तथा कुर्सी र कागजात पनि नष्ट भएका छन् ।
यद्यपि, महानगरपालिकाले अत्यावश्यक सेवालाई प्राथमिकतामा राख्दै सेवा आंशिक रूपमा सुचारु गरेको उपमेयर कार्कीको भनाइ छ । स्वास्थ्य सेवा नियमित छ । राजस्व र कानुन शाखाका सेवाहरू क्रमशः सञ्चालनमा ल्याइने उनले बताइन् ।
क्षतिग्रस्त वडामा २ वटा डेस्कटप र प्रिन्टर उपलब्ध गराएर सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी कार्कीले दिइन् । पुनर्निर्माणका लागि आर्थिक भार परे पनि सामाजिक सुरक्षा भत्ता र कर्मचारीको दसैं भत्ता कटौती नगर्ने उनको भनाइ छ ।
स्थानीय व्यवसायीसँग पुनर्निर्माणका लागि सहकार्य थालिएको भए पनि प्रदेश र संघीय सरकारबाट अझै कुनै आश्वासन प्राप्त नभएको महानगरले जनाएको छ । महानगरपालिकाले क्षतिको विस्तृत विवरण संकलन गर्दै सरसफाइ अभियान पनि सुरु गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार नक्सा, राजस्व र घरजग्गासम्बन्धी महत्वपूर्ण कागजातमध्ये अधिकांश जलेर नष्ट भएका छन् । कार्यालय सञ्चालनका लागि न्यूनतम सामग्री समेत उपलब्ध छैन ।
विराटनगर महानगरपालिकाले जेनजी आन्दोलनको असरका बावजुद नागरिकका अत्यावश्यक सेवामा व्यवधान नआओस् भन्ने लक्ष्य राखेर सेवा आंशिक रूपमा पुनः सुरु गरेको कार्कीको भनाइ छ । तर, सम्पूर्ण पुनर्निर्माण र साधन स्रोतको व्यवस्थाका लागि अझै समय र सहयोग आवश्यक रहेको उनले बताइन् ।

























