
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा गएको पहिरो पन्छाएपछि आइतबार अपराह्नबाट सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार करिब दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको हो । गत शुक्रबार साँझ करिब ६ बजेतिर खसेको पहिरोका कारण यो सडक खण्ड बन्द हुँदा हजारौं यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।
पहिरो पन्छाएपछि सवारी साधनहरूलाई पालैपालो गन्तव्यतर्फ पठाउन थालिएको छ । नेपालका प्रमुख व्यापारिक मार्गहरूमध्ये एक मानिने नारायणगढ–मुग्लिन सडकखण्ड बारम्बार पहिरोका कारण अवरुद्ध हुने समस्या आइरहँदा यात्रु र व्यापारीहरू मर्कामा परेका छन् ।

























