
काठमाडौं । नवरात्रको सुरुवातसँगै सोमबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना हो । घटस्थापनाको शुभसाइत बिहान ९ः१३ बजे तय गरिएको थियो । शुभसाइतमा जमरा राख्ने परम्परा छ । उक्त परम्परा अनुसार विधिपूर्वक जमना राखिएको हो ।
उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन प्रस्तुत गरेको थियो भने परम्परानुसार बन्दुक पड्काएर बढाइँ समेत गरिएको थियो । काठमाडौंमा मात्रै नभएर देशभरका घरघरमा पनि घटस्थापना गरी जमरा राखिएको छ ।
घटस्थापनाको दिन बिहानै नित्यकर्म सकेर नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याइन्छ । त्यसलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँ घरमा राखी त्यसैमा जौ वा मकै छर्ने गरिन्छ । पूजाकोठा वा दसैँ घरमा दीप, कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आह्वानसहित पूजा गर्ने परम्परा छ ।
नवरात्रका ९ दिनसम्म दुर्गाका विभिन्न रूपहरूको पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।
यसरी ९ दिनसम्म विशेष पूजा आराधना गरेर विजयादशमीको दिन दुर्गा पूजाको समापनसहित जमरा टाउकोमा राखेर टीका लगाउने संस्कार नेपाली समाजमा पुस्तौंदेखि चलिआएको छ ।























