भूमि नियमावली संशोधन गर्दै मन्त्री सिन्हा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १५:३२

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू—उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई संशोधन गर्ने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले नियमावलीले विकास निर्माण कार्यमा बाधा पुर्याएको भन्दै संशोधनको आवश्यकता औँल्याएका छन् । उनका अनुसार नियमावलीका कारण विद्युत् लाइन विस्तार र अन्य विकास परियोजनाहरू रोकिएका थिए भने कित्ताकाट प्रक्रियामा पनि अवरोध आएको थियो ।

मन्त्री सिन्हाले भने, ‘मैले पहिलो निर्णयको रूपमा भू—उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छु । अहिले रोकिएका कित्ताकाटहरू र त्यसले रोकिएका विकास कार्यहरू पुनः सुचारु गर्ने उद्देश्यले यो कदम उठाइएको हो ।’ सिन्हाले सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न आफू सक्रिय रहने र स्थानीय तहलाई दिइएका अधिकारहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘केन्द्रित शासन प्रणालीलाई विकेन्द्रिकृत गर्दै स्थानीय तहलाई जवाफदेही बनाउने खालको निर्णय भू—उपयोगसम्बन्धमा गरेका छौं,’ उनले भने । मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । २०७३ साउन १७ गते न्यायाधीश नियुक्त भएका उनी ६५ बर्से उमेरहदका कारण २०८० कात्तिक १४ गते निवृत्त भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.