
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ठूलो सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार मंगलबार दिउँसो करिब ३ः२० बजे खसेको पहिरोका कारण सडक नै भासिने खतरा बढेको छ । सडकको अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले तत्कालै यातायात सुचारु हुने कुनै सम्भावना नरहेको उनले बताए ।
‘सडक नै भासिन सक्ने खतरा भएकाले अहिले सवारीसाधन चलाउन सक्ने सम्भावना छैन । सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ,’ पुरीले भने । सडक विभागको प्राविधिक टोली र सुरक्षा निकायको बैठक बसेर मात्र के गर्ने भन्ने निर्णय हुने जनाइएको छ ।
तर, पहिरो निरन्तर खसिरहेको र जोखिम अझै कायमै रहेकाले तत्काल पहिरो पन्छाउने सम्भावना नरहेको प्रहरीको भनाइ छ । यस सडकखण्ड देशको महत्वपूर्ण राजमार्गमध्ये एक भएकाले लामो दुरीका यात्रु र मालवाहक सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

























