
विराटनगर । जेनजी आन्दोलनका नाममा आगजनी गरेर ध्वस्त पारिएको जिल्ला प्रशासन कार्यालय मोरङको मर्मत सम्भार गर्ने कामलाई तीव्र पारिएको छ । साथै, कार्यालयमा आवश्यक पर्ने सामाग्री जुटाउने काम जारी छ ।
आगजनीले कार्यालयको भवनसहित सबै सामग्री जलेर नष्ट भएको थियो । आगजनीले ध्वस्त भएसँगै सहयोगी संस्थाहरुबाट सामग्री जुट्न थालेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संघ संस्थाले कार्यालयको रंगरोगन गर्न आवश्यक पर्नेसहित अन्य सामग्री सहयोग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १० वटा कम्युटर सहयोग गरेका छन् । जीवन विकास लघुवित्त संस्थाले ३ वटा प्रिन्टर सहयोग गरेको छ ।
निर्माण व्यावसायी संघ, इँटा व्यावसायी संघ, मदिरा व्यावसायी संघ, उद्योग संगठनलगायतका संघ संस्थाले सहयोग गरेका छन् । कार्यालयसँग बजेट नभएका कारण संघ संस्थामार्फत सहयोग संकलन भइरहेको प्रजिअ यादवले बताए ।
यातायात व्यावसायी संघबाट सिलिङ पंखा, एसियन पेन्ट्सबाट रंग सहयोग प्राप्त भएको छ । राष्ट्रिय परिचयपत्र वितरण कक्ष प्रयोग गर्न नमिल्ने भएका कारण छुट्टै संरचना निर्माण भइरहेको छ । यो संरचना निर्माण व्यावसायी संघले बनाइरहेको हो ।
नागरिकता, राहदानी वितरणका लागि कार्यालय मर्मत भइरहेको यादवले बताए । उनका अनुसार मर्मतपछि नागरिकता एवं राहदानी र राष्ट्रिय परिचयपत्रको वितरण दसैँपछि सुरु गर्ने तयारी छ । पूर्ण सेवा दसैँपछि सुरु हुने भए पनि अत्यावश्यक सेवा भने सञ्चालन भइरहेको उनको भनाइ छ ।
प्रजिअ यादवका अनुसार आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयको संरचनामा मात्रै ४ करोड बराबरको क्षति भएको थियो । अफिस सामग्रीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । कार्यालयमा आगजनीबाट जोगिएका सामग्री लुटपाट भएको यादवले बताए । ‘आगजनीले नभेटेका सामग्री लुटपाट भयो । कार्यालयमा केही बाँकी छैन । लुटपाट भएकोमध्ये एउटा प्रिन्टर फिर्ता आएको छ,’ उनी भन्छन् ।
कार्यालयमा वितरणका लागि राखिएका करिब डेढ लाख राष्ट्रिय परिचयपत्र जलेका छन् । करिब ४ सय राहदानी जलेको यादवले बताए । ‘जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेका ४ सय मुद्दाको फाइल पनि ध्वस्त भएका छन्,’ उनले भने, ‘२०४८ सालयताको नागरिकता फाँटका सबै अभिलेख पनि जले ।’

























