जहदा गाउँपालिकामा बहुप्रकोपजन्य साइरन सञ्चालनमा

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार ०९:५६
जहदा गाउँपालिकामा बहुप्रकोपजन्य साइरन सञ्चालनमा

विराटनगर । जहदा गाउँपालिकामा सम्भावित बहुप्रकोपजन्य घटनाको पूर्व जानकारी दिने साइरन सञ्चालनमा आएको छ ।

जहदाको वडा नम्बर ७ मा साइरन  जडान गरेर सञ्चालनमा ल्याइएको छ । जहदाको ७ वटा वडामध्ये वडा नम्बर १, २ र ७ मा बाढी र डुबानबाट हरेक वर्ष क्षति हुँदै आएकाले क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ साइरन जडान गरिएको हो ।

पूर्व तयारी तथा पूर्व अनुमान समावेशीद्वारा विपद् प्रभाव न्यूनीकरण कार्यक्रमका संयोजक तेज श्रेष्ठले बहुप्रकोपजन्य घटनाबाट हुने सक्ने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले साइरन जडान गरेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी मोरङ र जहदा गाउँपालिकाको सहकार्यमा जडान गरिएको साइरनले विपद् पूर्व सूचना जानकारी दिने छ ।

मोरङको लेटाङ नगरपालिकासँग समन्वय गरेर लोहन्द्रा खोलाको शिरमा वर्षा मापक केन्द्र राखिएको  र त्यहाँ २४ घण्टामा २ सय मिलिमिटर पानी पर्दा लोहन्द्रा खोलामा बाढी आउँछ ।

लोहन्द्रा खोलाको राम चोकमा रिभर स्टेसन राखिएकाले पानीको बहाव बढेमा साइरन बज्ने भएकाले स्थानीयहरू सचेत हुने श्रेष्ठले बताए ।

कार्यक्रमको उद्‌घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साइरन जडानले विपद्बाट हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र उपाध्यक्ष हन्ना सोरेनले पालिकामा बर्सेनि बहुप्रकोपजन्य विपद् बाढी, डुबान, सर्प दंश, आगलागीलगायतका कारण धनजनको क्षति पुग्ने गरेको बताउँदै अब क्षति न्यूनीकरण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

विपत् पूर्व तयारी स्वरूप रेडी प्रोग्रामअन्तर्गत नेपाल रेडक्रस मोरङ शाखाले साइरन राखेको नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुकदेव मण्डलले बताए । बहुप्रकोपजन्य साइरनबाट जहदाको १, २ र ७ का स्थानीयलाई सचेत गराउने छ ।

लोहन्द्रा खोलामा आउने बाढीका कारण स्थानीयहरू लामो समयदेखि पीडित बनेका थिए । सम्भावित अन्य बहुप्रकोपजन्य घटनालाई समेत पूर्व जानकारी दिने उद्देश्यका साथ यो साइरन राखिएको हो । साइरनमा १० वटा अंक जडान गरिएको छ । १ देखि १० अंकमा फरक फरक साइरन बज्ने छ ।

१ नम्बर थिचे बाढी आउन लाग्यो तुरुन्त सुरक्षित हुनुहोस्, २ थिचे गाउँमा आगलागी छ, आगो निभाउन मद्दत गर्नुहोस्, ३ मा सावधान चट्याङ पर्न सक्छ, सुरक्षित स्थानमा जाऊँ लगायतका सूचना राखिएको छ ।

यस्ता साइरन जोखिम हुने अन्य स्थानमा पनि जडान गरिने आयोजकले जनाएको छ । रेडी प्रोग्रामले जहदा गाउँपालिकामा विपद्को जोखिमबाट बच्न विभिन्न सचेतना कार्यक्रम गर्नुका साथै तटबन्ध निर्माणलगायतका कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.