भारतको जोगवनी तनावग्रस्त, नेपालीलाई प्रवेशमा रोक

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार १४:१४

विराटनगर । भारतको जोगवनी बजार केही बेरअघिबाट तनावग्रस्त बनेको छ । २ पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव बढेको हो ।

जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरु बेला पनि दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् । जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरु भागेर नेपाल फर्किएका छन् ।

अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

‘जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ ।’ विराटनगरको रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले जोगवनी जान लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै रोकेका छन् । जोगवनी पुगेकाहरु पनि फर्किने क्रम जारी रहेको प्रजिअ यादवले बताए । उनका अनुसार बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव पछिल्लो समय उग्र बन्दै गएको जानकारी आएको छ ।

इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जानकारी नेपाली सुरक्षाकर्मीले प्राप्त गरेका छन् । ‘हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रियो । त्यसपछि बजरंग दलका युवाहरु आइपुगेपछि मुस्लिम र हिन्दु समुदायबीच दोहोरो झडप भएको जानकारी आएको छ । थप विषय प्रष्ट भइसकेको छैन,’ १ जना प्रहरी अधिकारीले भने ।

उनका अनुसार अहिले जोगवनीमा दुवै समुदाय विरोध प्रदर्शनमा उत्रिएको जानकारी आएको छ । दुवै पक्ष हात–हातमा लाट्ठी र भाला बोकेर प्रदर्शनमा उत्रिएपछि जोगवनीमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतीय सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । परिस्थिति नियन्त्रण बाहिर गएर दंग भड्किने सम्भावना बढेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनमा उत्रिएकाले केही संरचनामा तोडफोडसमेत गरेको बताइएको छ । भारतीय अधिकारीहरुले दुवै पक्षलाई संयम हुन आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन् ।

यसैबीच, नेपाली प्रशासनले भने तत्काललाई जोगवनी प्रवेश नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । स्थिति साम्य भएपछि नाका खुला गरिने प्रजिअ यादवको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.