सधैँ डुब्छ दरैया, कारण दशगजाको सडक

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २०, सोमबार २०:०९

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र दरैया, हरेक वर्ष वर्षा र बाढीका कारण डुबानमा पर्छ ।

स्थानीय श्यामकुमार पाण्डका अनुसार भारतले दशगजा नजिकै बाँधजस्तो अग्लो सडक बनाएका कारण पानीको निकास हुन नसक्दा यो समस्या आएको हो ।

विगत १०–१२ वर्षदेखि यस्तो डुबान भइरहेको र पहिले यस्तो समस्या नभएको उनको भनाइ छ। अहिले वर्षाको पानी निकास हुन ३–४ दिन लाग्छ, जबकि पहिले एक दिनमै निकास हुन्थ्यो । उनले भने ।

केसलीया खोलामा आएको बाढी ओभरफ्लो भएर दरैया बस्तीमा पसेको थियो । बाढीका कारण विस्थापित भएका स्थानीय नन्दा ऋषिदेव, गुल महम्मद मिया र राजकुमारी पण्डितलगायत मिल्स माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

नन्दा ऋषिदेवका अनुसार भारततर्फको सडकले पानी निकास नहुँदा उनको घर डुबेको हो, र सडकमा बनेका कल्भर्टहरू पनि साना छन् । उनले दुई वर्षअघि पनि विस्थापित हुनुपरेको बताए।

गुल महम्मद मियाको यसअघिको बाढीले दुई वटा भैंसी र तीन वटा बाख्रा बगाएको थियो।

दरैया बस्तीका साथै विराटनगरका सीमावर्ती क्षेत्रहरू सधैं डुबानमा पर्छन् । भारतले निर्माण गरेको एकीकृत भन्सार जाँच परियोजना(आईसीपी), यसलाई जोड्ने सडक र रेल्वे परियोजनाले दक्षिण पूर्वको पानीको निकास रोकेको छ ।

वर्षाका कारण विराटनगरका दक्षिणी वडाहरू १२, १३, १४, १५ र १६ नम्बर बढी प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाका अनुसार महानगरपालिकाले बजार क्षेत्रको डुबान समस्या समाधानका लागि काम गरिरहेको छ । उनले निकास नाला निर्माणका कारण विराटनगर– १५ मा यो वर्ष विगतको जस्तो डुबान नभएको बताए । विराटनगरको डुबान समस्या समाधानका लागि महानगर एक्लैले नसक्ने भन्दै उनले यसमा संघीय सरकारको पनि सहयोग चाहिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.