
काठमाडौं । जेनजीका नाममा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको विषयमा अनुसन्धान एवं कारबाही गर्न जाँचबुझ आयोगको प्रतिवेदन पर्खन नपर्ने भएको छ ।
उक्त घटनाको विषयमा जाँचबुझ गर्न गठित आयोगले हत्या, आगजनी र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको हो । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयले ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’ गृह मन्त्रालयले भने घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने भन्दै विज्ञप्ति जारी गरेको थियो ।
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन गरिएको आयोगले मिति असोज ९ गतेदेखि काम सुरु गरेको छ । भदौ २३ र २४ का घटनामा भएको क्षतिका बारेमा सूचना, निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक रायसहित प्रतिवेदन पेस गर्ने कार्यादेश आयोगलाई छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै आयोगले प्राप्त सूचना र निवेदनका आधारमा अध्ययन र विश्लेषणको काम अगाडि बढाइरहेको जनाए । उनले जारी गरिएको विज्ञप्तिमा फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख छ ।


























