
विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरोका कारण विस्थापित भएकाहरु सबै घरहरू पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोबाट क्षति भएका सबै घरहरू प्रदेश सरकारले नै निर्माण गरिदिने निर्णय गरेको हो ।
बैठकले सबैभन्दा बढी प्रभावित इलाम, झापा र मोरङ जिल्लाका घरहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको छ।
घरहरूको विस्तृत विवरण संकलन कार्य सँगसँगै निर्माण प्रक्रिया पनि अघि बढाइने प्रदेश सरकारले जनाएको छ ।
बैठकले इलाम जिल्लाका ७ वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
राहत र पुनर्स्थापनाका कार्य प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न मन्त्रीहरूलाई जिल्लागत समन्वय जिम्मेवारी तोकेको छ ।
बैठकले चालु आर्थिक वर्षका खर्च र योजनाहरू पुनरावलोकन गरी कटौती गरेर पुनर्निर्माणमा आवश्यक बजेट विनियोजन गर्ने सिफारिस पनि गरेको छ ।
साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई तत्कालै सबै अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउन आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री कार्कीले बैठकमा बोल्दै ‘पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउन’ सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
यसैगरी, परिषद् बैठकले बाढीपहिरोपीडित नागरिकहरूको सहयोगका लागि उद्योगी व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, बैँक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई योगदान गर्न आह्वान गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिएका छन्।

























