
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार बिहानका राति ३ जना सवार मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार विराटनगर–६ का ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी घाइते भएका छन् । घाइते भएका दुवै जनालाई कोशीबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ ।
घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्दै ३ जना चढेर कुदाइएको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























