
काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि पनि गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अनिश्चित नै छ ।
युद्धविरामसँगै उनको अवस्थाबारे केही प्रगति हुने आशा गरिएको थियो । तर, नेपालका लागि इजरायलस्थित राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनको जीवन वा मृत्युबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन ।
विपिनका बारेमा नेपाली राजदूतावास अनभिज्ञ रहेको हो । राजदूत पण्डितले इजरायलका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए पनि विपिनबारे ठोस तथ्य सार्वजनिक हुन सकेको छैन ।
उनले भने, ‘विपिनको बारेमा धेरैले सोधिरहनु भएको छ । तर, अहिलेसम्म उनको जीवनको अवस्थाबारे कुनै जानकारी छैन । इजरायली अधिकारीहरूसँग हामी लगातार सम्पर्कमा छौं । अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।’ परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विपिनको अवस्थाबारे पत्ता लगाउने प्रयास भइरहेको तर, सफल हुन नसकेको बताउँछन् ।
मन्त्रालयका एक कर्मचारीका अनुसार इजरायल सरकारको तर्फबाट कुनै पनि बेला विपिनको ‘जुनसुकै अवस्थाको’ सूचना आउनसक्ने भएकाले परिवारलाई तयार रहन भनिएको छ । ‘विपिनको बारेमा इजरायलले जुनसुकै अवस्थाको खबर पठाउन सक्छ भन्ने सूचनासहित परिवारलाई तयार रहन सन्देश आएको छ,’ स्रोतले भन्यो ।
कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा ‘अर्न एण्ड लर्न’ कार्यक्रममा सहभागी हुन सन् २०२३ को सुरुवातमा इजरायल पुगेका थिए । तर, त्यही वर्षको अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रका बस्तीहरूमा गरेको भीषण आक्रमणका क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै बन्धक बनाइएका थिए ।
सो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमास लडाकुहरूले कब्जामा लिएर गाजा क्षेत्रतर्फ लगेका थिए । त्यसपछि उनको अवस्था अज्ञात छ ।
गत बुधबार बेलुका सार्वजनिक गरिएको ३३ सेकेन्ड लामो भिडियोमा विपिनले आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन् । गाढा नीलो कपडा लगाएका विपिनले सो भिडियोमा शान्त मुद्रामा बोलिरहेका देखिन्छन् । तर, भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने खुलेको छैन ।
राजदूत पण्डितका अनुसार उक्त भिडियो हालसालैको नभएर पुरानो हो । उनले भने, ‘हामीले हेरेका आधारमा यो भिडियो पुरानो हो । त्यसले अहिलेको अवस्था प्रतिविम्बित गर्दैन ।’
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा सहरको अल शिफा अस्पताल परिसरमा देखिएको पुष्टि इजरायली पक्षले गरेको थियो । त्यसपछि भने उनको अवस्था पत्ता लागेको छैन । हमासको नियन्त्रणमा रहेका बन्धकहरूको सूचीमा उनको नामबारे पनि कुनै स्पष्ट जानकारी आएको छैन ।
युद्धविरामपछि केही बन्धकहरूको अवस्था सार्वजनिक भइरहे पनि नेपाली विद्यार्थी विपिनको बारेमा कुनै आधिकारिक सूचना आएको छैन । परिवार उनको प्रतीक्षामा छ ।
राजदूत पण्डितले भने, ‘हामीले इजरायलका अधिकारीहरूसँग बारम्बार कुरा गरिरहेका छौं र कुनै न कुनै रूपमा उनको अवस्थाका बारेमा सत्य तथ्य सार्वजनिक हुन्छ भनने आशा छ । अहिलेसम्म चैं कुनै जानकारी आएको छैन ।’ कञ्चनपुरको बैतडी सीमानजिकको सुदूर गाउँका २२ वर्षीय विपिन इजरायल पुगेको वर्ष दिन नपुग्दै बन्धक बनेका थिए ।
उनको अवस्था पत्ता लगाउन र उनलाई उद्धार गर्न सरकार र इजरायलस्थित नेपाली दूतावासलाई चुनौती छ । विपिनको अवस्थाको अनिश्चितताले नेपाली जनमानसमा पीडाको वातावरण सिर्जना गरेको छ ।

























