
काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्ने क्रममा डा. निकोलस भुसालसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डा. भुसाल, एसपी साह र सञ्जीव दाहाल रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू ‘जनताको आवाज उठाउने अभियान’ भन्दै माइतीघरतर्फ पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिना अनुमति प्रदर्शन गर्न खोजेकाले सुरक्षाका दृष्टिले पक्राउ गर्नुपरेको हो ।
‘जेनजी नागरिक आवाज’ नामक समूहले सरकारको उदासीनता र सुशासन अभावविरुद्ध प्रदर्शनको तयारी गरेको थियो । प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
डा. भुसाल नागरिक सचेतना र शासन सुधारका मुद्दामा सक्रिय अभियन्ता हुन् । प्रशासनले माइतीघर क्षेत्रमा प्रदर्शन निषेध गरेपछि नागरिक अभिव्यक्ति तथा स्वतन्त्रतामाथि प्रश्न उठेको छ ।

























