
विराटनगर । झापामा प्रहरीले तास खेल्दा पक्राउ परेकाहरुको विवरण लुकाएको छ । बिर्तामोड नगरपालिका–८ किसनभिट्टाबाट बिहीबार राति ११ जना पक्राउ परेका थिए ।
ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा सञ्चालित तासको खालमा प्रहरीले राति १० बजेतिर छापा हानेको थियो । छापा हान्ने क्रममा घरधनी उप्रेतीसहित ११ जना पक्राउ परेका थिए ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुको साथबाट १ बुङ तास, २ लाख १५ हजार ५ सय ५० रूपैयाँ नगद र ९ वटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रवीण श्रेष्ठले बताए ।
तर, यो प्रकरणमा झापा प्रहरीको भूमिका शंकास्पद देखिएको छ । घरधनीको मात्रै नाम सार्वजनिक गरेको प्रहरीले पक्राउ परेका अन्यको विवरण भने लुकाएको छ । प्रहरीले तास खेल्दै गर्दा पक्राउ गरिएको भनेर छोटो सूचना मात्रै सार्वजनिक गरेको छ ।
सबैको नाम र विवरण सार्वजनिक नगर्दा प्रहरीको भूमिका शंकास्पद देखिएको हो । सबैको विवरण उपलब्ध गराउन आग्रह गर्दा इन्स्पेक्टर श्रेष्ठले अस्वीकार गरे । ‘अहिलेसम्म सबैको विवरण आइसकेको छैन । त्यही भएर उपलब्ध गराउन सकिएन । अनुसन्धान भइरहेको छ । थप कारबाही अघि बढेपछि दिउँला,’ उनले भने ।
तासको खालबाट पक्राउ गरिएको १२ घण्टाभन्दा बढी समय भइसक्दा पनि पक्राउ पर्नेको विवरण प्राप्त नभएको भनेर प्रहरी अधिकृतले दिएको जवाफ नै शंकास्पद एवं विवादास्पद छ । स्रोतका अनुसार तासको खालमा छापा हानिएको र खालबाट मानिस पक्राउ परेको सूचना नै प्रहरीले ‘गुपचुप’ राख्न खोजेको थियो ।
तर, ‘गुपचुप’ राख्न सम्भव नभएपछि सामान्य हिसाबले सबैको विवरण लुकाएर सूचना सार्वजनिक गरिएको छ । ‘तासको खालबाट पक्राउ परेकासँग ‘सेटिङ’ मिलाउने योजना छ । त्यही भएर विवरण लुकाइएको हो,’ प्रहरी स्रोतले भन्यो । जुवा तासको कारबाहीमा प्रहरी प्राय विवादित बन्ने गरेको छ ।

























