davविराटनगर । मोरङ सुनबर्षी नगरपालिका–६ को सरकारी जग्गा रंगेली मालपोत कार्यालयका कर्मचारीको सेटिङमा व्यक्तिको नाममा दर्ता भएपछि अनुसन्धान सुरु भएको छ ।
१७ कठ्ठा २ धुर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषय बाहिर आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो । ऐलानी जग्गामा २० घर सुकुमबासी बस्दै आएका थिए ।
जग्गा अपचलन मुद्दाको अनुसन्धानका लागि मोरङ जिल्ला अदालतले रंगेली मालपोत कार्यालयका ३ कर्मचारी र जग्गाधनी सिंहलाई पक्राउको अनुमति दिएको छ । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गाधनी भीमप्रसाद सिंहलाई पक्राउ गर्न अनुमित दिएको हो ।
मालपोतका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (स्रेस्ता)को सक्कली पाना च्यातेर भीमप्रसाद सिंहको नाममा नक्कली अभिलेख टाँस गरेका थिए । मालपोतका कर्मचारीको मिलेमतोमा १७ कठ्ठा २ धुर सरकारी जग्गा सिंहको नाममा पुगेको हो ।

























