शीतल निवास अगाडि जेनजीको नाराबाजी

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार ११:३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आयोजना गरेको छलफल कार्यक्रम विवादमा तानिएको छ । शनिबार बिहान शीतल निवासमा भएको वार्तामा सहभागी हुन नपाएका केही जेनजी युवाहरुले बाहिरै नाराबाजी गर्दै विरोध जनाएका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको उपस्थितिमा जेनजी युवासँग छलफल आयोजना गरेका थिए । तर, वार्तामा सुदन गुरुङ नेतृत्वको टोलीलाई मात्रै प्रवेश दिइएपछि अन्य समूहका युवाहरु आक्रोशित बनेका हुन् ।

उनीहरु शीतल निवासको मुख्य गेटबाहिर भेला भएर ‘हामी पनि जेनजी हौं, हामीलाई किन बाहिर राखियो ?’ भन्दै नाराबाजी गरिरहेका छन् । पुलिसले शान्तिपूर्ण रहन आग्रह गर्दै उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको भए पनि केही युवाहरुले वार्तामा समान अवसर नदिइएको भन्दै असन्तोष व्यक्त गरिरहेका छन् ।

राष्ट्रपतिसँगको छलफलमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने भनिएको थियो । तर, पछिल्लो जानकारीअनुसार संख्या बढेर २० भन्दा बढी पुगेको छ ।

छलफलमा सुशासन, पारदर्शिता, र भ्रष्टाचार नियन्त्रणका विषयमा सुझावसहित नयाँ सरकार गठन र आगामी आम निर्वाचनको तयारीबारे पनि छलफल भइरहेको बताइएको छ । भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशभर जेनजी आन्दोलन भएको थियो ।

जेनजी प्रदर्शनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पदत्याग गर्न बाध्य बनाएको थियो । त्यसपश्चात जेनजी समूहको सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई आगामी फागुन २१ गतेसम्म आम निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ । अहिले उनी जेनजी आन्दोलनका विभिन्न समूहहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।

तर, जेनजीका नाममा गतिविधि गर्ने समूहहरू आपसमा विभाजित देखिँदा सरकार र राष्ट्रपतिका लागि आधिकारिक वार्ता टोली निर्धारण गर्न चुनौतीपूर्ण बनेको छ । शीतल निवासमा जारी वार्ताले केही ठोस सहमति निकाल्ने अपेक्षा भए पनि बाहिरैबाट भइरहेको नाराबाजीले जेनजी आन्दोलनभित्रको अन्तरिक मतभेदलाई सतहमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.