
गाजा । इजरायल र हमासबीच युद्धविराम लागू भएपछि शुक्रबार बिहानबाट गाजाका केही भागमा रहेका इजरायली सेनाले आंशिक रूपमा फिर्ता हुन थालेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार गाजाबाट इजरायली सेना फिर्ता हुन थालेको हो । तर, सेनाले अझै पनि गाजा पट्टीको करिब आधा भू–भागमा आफ्नो नियन्त्रण कायम राखेको छ ।
इजरायली सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तयार गरिएको युद्धविराम र बन्दी फिर्ता सम्झौताको पहिलो चरणलाई अनुमोदन गरेसँगै शुक्रबारदेखि युद्धविराम औपचारिक रूपमा लागू भएको हो । सम्झौताको बाँकी चरणबारे वार्ता भने अझै जारी रहेको बताइएको छ ।
सम्झौताअनुसार हमासले सोमबार दिउँसो १२ः०० बजेसम्म सबै इजरायली बन्दीहरूलाई रिहा गर्नुपर्नेछ । तीमध्ये करिब २० जना जीवित र २८ जनाको शव रहेको अनुमान गरिएको छ । त्यसको सट्टामा इजरायलले आफ्ना जेलमा आजीवन कारावास सजाय भोगिरहेका करिब २ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्ने छ।
युद्धविरामको मुख्य सर्तअनुसार गाजाको जनताका लागि अत्यावश्यक मानवीय सहायता पुनः खोलिएको छ । शुक्रबारदेखि दैनिक ६ सयवटा सहायता सामग्री बोकेका ट्रकहरू गाजामा प्रवेश गर्ने योजना बनाइएको इजरायली अधिकारीहरूले जनाएका छन् । यद्यपि, सहायता वितरणको ठ्याक्कै विवरणहरू भने अझै सार्वजनिक गरिएको छैन ।
संयुक्त राष्ट्रसंघीय राहत निकायका अनुसार गत अगस्टमा गाजाको केही क्षेत्रमा औपचारिक रूपमा अनिकालको स्थिति घोषणा गरिएको थियो । त्यतिबेला संयुक्त राष्ट्र समर्थित विज्ञहरूले गाजामा ५ लाखभन्दा बढी मानिसहरू भोकमरीको चपेटामा परेको जनाएका थिए ।
यसबीच, अमेरिकी रक्षा अधिकारीहरूले युद्धविरामको कार्यान्वयन र निगरानीका लागि मध्यपूर्वमा तैनाथ २ सय जनासम्म अमेरिकी सैनिकलाई अस्थायी रूपमा इजरायल सारिने बताएका छन् । इजरायली सेनाले आफ्नो बयानमा ‘नयाँ तैनाथी रेखा’ मा सिपाहीहरूलाई स्थानान्तरण गर्न थालिएको जनाएको छ । जसलाई अमेरिकी विशेष दूतले ‘पहेँलो रेखा’ नाम दिएका छन् ।
गाजाको दक्षिणी र पूर्वी क्षेत्रबाट आंशिक रूपमा फिर्ता भए पनि इजरायली सेनाको हवाई गतिविधि भने जारी रहेको स्थानीय स्रोतहरूले बताएका छन् । युद्धविराम स्थायी बन्ने वा पुनः तनाव बढ्ने भन्ने विषयमा दुवै पक्षले आधिकारिक रूपमा केही नबताए पनि स्थानीय मानव अधिकार समूहहरूले युद्धविरामलाई ‘थकित नागरिकका लागि अस्थायी राहत’को रूपमा वर्णन गरेका छन् ।
युद्धविरामपछि गाजामा जनजीवन सामान्य बन्दै गएको छ । धेरै बासिन्दा अझै असुरक्षाको डरमा छन् । स्थानीय अब्दुल करीम अल–साफदीले भने, ‘हामी अहिलेको मौनतालाई पनि डरका साथ हेर्छौं । किनकि यसअघि पनि यस्तै युद्धविरामका नाममा केही दिनपछि फेरि बम खसालिन्थ्यो ।’
इजरायली प्रधानमन्त्री कार्यालयले भने युद्धविरामलाई ‘राष्ट्रिय हितमा गरिएको रणनीतिक कदम’ भनेको छ । प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता हाम्रो बन्दी नागरिकलाई घर फर्काउने पहिलो चरण हो । तर, गाजामा आतंकवादी समूहको अन्त्य हाम्रो दीर्घकालीन लक्ष्य रहन्छ ।’
दोस्रो चरणको सम्झौतामा युद्धविरामलाई दीर्घकालीन बनाउने र गाजामा पुनर्निर्माण तथा राहत योजनाका ढाँचा तय गर्ने विषय समावेश गरिने अमेरिकी मध्यस्थ टोलीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो युद्धले करिब ३५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।
लाखौँ विस्थापित भएका छन् । यस्तो अवस्थामा युद्धविराम र आंशिक फिर्तीले तत्काल राहत त दिन सक्छ, तर स्थायी शान्तिको आशा अझै अनिश्चित देखिन्छ ।



















