हुन सकेन राष्ट्रपतिसँग जेनजीको छलफल

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार १२:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीका अगुवाबीच हुने भनिएको छलफल २ दिन पछाडि धकेलिएको छ ।

शीतल निवासमा शनिबार बिहानबाट सुरु हुने भनिएको छलफल अचानक स्थगित भएपछि त्यसको नयाँ मिति सोमबार तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । छलफलका लागि बिहानै शीतल निवास पुगेका जेनजीका १ अगुवाले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै राष्ट्रपति सचिवालयले बैठक स्थगित गरेको जानकारी दिए ।

उनका अनुसार छलफलको तयारी पूरा भइसकेको थियो । तर, अन्तिम समयमा राष्ट्रपति स्वयंबाट उपस्थित हुन असमर्थ भएको सन्देश आएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेललाई पछिल्ला दिनमा हल्का रुघाखोकी र थकानका कारण विश्राम आवश्यक भएको चिकित्सकको सिफारिस छ । यद्यपि, उनी नियमित कामकाजमा भने सक्रिय छन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक रुपमा राजनीतिक विषयमा छलफल जारी राखेका छन् । राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाबीच हालको राजनीतिक सहमति र आगामी संक्रमण व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्ने तयारी थियो ।

राष्ट्रपति कार्यालयले यस छलफललाई ‘संवेदनशील र निर्णायक चरणको संवाद’ का रूपमा लिएको थियो । तर, राष्ट्रपति निवास शीतल निवासमा बोलाइएको छलफल स्थगित भएपछि केही जेनजी प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् ।

छलफलका लागि बोलाइएको सूचना अनुसार निर्धारित समयमा शीतल निवास पुगेका केही जेनजी सदस्यहरूलाई प्रवेश अनुमति नदिइएपछि उनीहरूले गेटबाहिर नाराबाजी र प्रदर्शनसमेत गरेका थिए । विरोधका क्रममा उनीहरूले छलफललाई पटक–पटक स्थगित गर्नु सरकार र राष्ट्रपतिपक्षको असजिलो रणनीति भएको आरोप पनि लगाएका छन् ।

जेनजीका एक प्रतिनिधिले भने, ‘हामीलाई बोलाइएको थियो । तर, अन्तिम क्षणमा प्रवेश रोकिनु र बैठक सारिनु अनौठो कुरा हो । यो कुनै प्राविधिक कारण होइन । राजनीतिक कारण पनि हुन सक्छ ।’ स्रोतका अनुसार सोमबारका लागि सारिएको छलफलमा अब राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी तर्फबाट शीर्ष अगुवा सहभागी हुने तय गरिएको छ ।

छलफलको एजेन्डा भने गोप्य राखिएको छ । स्रोतका अनुसार सोमबारको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको छ । आगामी छलफलबाट वर्तमान असमझदारी समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.