मोरङ कारागारका बन्दीको मृत्यु

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार १८:२९

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका १ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । उनका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन् ।

जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि सार्कीलाई २०८१ पुस २९ गते कारागार चलान गरिएको थियो । अदालतको आदेशपछि कारागार चलान गरिएका सार्कीको मुद्दा विचाराधीन छ ।

आफूविरुद्धको मुद्दा किनारा लाग्न बाँकी रहेकै अवस्थामा उनको मृत्यु भएको हो । जेलर ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो १ः२५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई दिउँसो १ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी ढुंगेलले दिए । उनका अनुसार शव परिवारका सदस्य र आफन्तले जिम्मा लिएर लगिसकेका छन् ।

कारागारका अनुसार आफन्तले शवको पोस्टमार्टम गर्न मानेनन् । आफन्तले नमानेपछि पोस्टमार्टम नगरिकन शव जिम्मा लगाइएको हो । जिल्ला कारागार मोरङमा हाल १ हजार २ सयजति कैदीबन्दी रहेको ढुंगेलको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.