
विराटनगर । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आइतबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण गरेका छन् ।
निरीक्षण भ्रमणका क्रममा खापुङले प्रहरीहरूलाई सम्बोधन गर्दै देश, नागरिक र संगठनप्रतिको दायित्वपूर्ण सेवा भावनाका साथ कार्य गर्न निर्देशन दिए ।
उनले प्रहरी संगठनले विगतका आरोह अवरोह पार गर्दै आफ्नो गरिमा उच्च राख्दै आएको उल्लेख गर्दै, देश र नागरिकविरुद्ध हुने सबै प्रकारका आपराधिक क्रियाकलापलाई कानुनी दायरामा ल्याउन प्रहरी सधैँ कटिबद्ध रहनुपर्ने बताए ।
उनले प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याई, आदेश निर्देशनको पालना गरी आपसी भाइचाराको भावना र सकारात्मक सोचका साथ संगठनको गरिमा वृद्धिमा योगदान दिन सबै प्रहरीलाई आग्रह गरे ।
सो अवसरमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले संगठन प्रमुख खापुङप्रति आभार व्यक्त गर्दै उनले प्रदान गरेको अमूल्य निर्देशन र हौसलाले सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल थप उच्च बनेको बताए । उनले आदेश निर्देशनको अक्षरशः पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।























