पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दामा जिल्ला अदालतमा बयान

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार १४:४४

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुन तस्करीसम्बन्धी पूरक मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (मंगलबार) बयान सुरु भएको छ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान लिने काम भइरहेको छ। सरकारी वकिल कार्यालय, काठमाडौंले हिजो (सोमबार) जिल्ला अदालतमा उनीविरुद्ध अभियोग पत्र दर्ता गरेको थियो।

मुद्दामा महराविरुद्ध संगठित अपराध, भन्सार ऐन र सुन तस्करीसम्बन्धी अभियोग लगाइएको छ। सरकारी वकिलले महराबाट ८ करोड ५५ लाख रुपैयाँ बिगो असुल र ३ वर्ष कैद सजायको माग दाबी गरेको छ। महराको बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। महरालाई २०७९ साल पुस १० गते चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा प्रतिवादी कायम गरिएको हो।

सो प्रकरणमा सुनको अवैध पैठारी तथा तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी किटान गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.