श्रीलंकाको ‘भूमिगत नाइके’ हत्याका ६ आरोपी काठमाडौंबाट पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार ०९:२९

काठमाडौँ। श्रीलंकाको अदालत परिसरमै भएको भूमिगत गिरोहका नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) को हत्यामा संलग्न आरोपीहरू नेपालमा लुकेर बस्दै आएको खुलेको छ।

नेपाल प्रहरीसँगको समन्वयमा गरिएको एक विशेष कारबाही मार्फत गणेमुल्लाको हत्यामा संलग्न ६ जना अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ। पक्राउ परेकाहरू काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा आश्रय लिएर बस्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा श्रीलंकाको मिनुवनगोडा बस्ने २६ वर्षीया इसारा सेउबन्दी (मुख्य अभियुक्त), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन्।

पक्राउ परेकी इसारा सेउबन्दी गत फागुन ७, २०८० (२०२४ फेब्रुअरी १८) मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन्।

इसारा सेउबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी गरिएको थियो।  प्रहरीको भनाइ अनुसार, पक्राउ परेका सबै व्यक्तिहरू श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहका हुन्। पद्येले मलेसिया र दुबईबाट संगठित अपराधको सञ्जाल चलाउँदै आएका थिए।

पद्येविरुद्ध पनि इन्टरपोलले रेड नोटिस जारी गरेको थियो र उनी २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ परेका थिए। श्रीलंकन प्रहरी र स्थानीय समाचार संस्थाहरूले सञ्जीवाको हत्याको मुख्य योजनाकार पद्ये नै रहेको बताउँदै आएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.