मोरङको उखुबारीमा बेवारिसे नाबालिका फेला, पत्ता लागेनन् अभिभावक

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १६:२५

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहामा रहेको उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन् ।

स्थानीयले मंगलबार साँझ ६ः३० बजेतिर शम्भुप्रसाद यादवको उखुबारीमा नाबालिकालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले रोइरहेको सुनेपछि गएर हेर्दा उखुबारीमा नाबालिका फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरी टोली पुग्दा नाबालिका रोइरहेको र अभिभावक एवं आफन्त फेला नपरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । प्रहरीले नाबालिकालाई तत्काल संरक्षणका लागि स्थानीय सिजवना खातुनको जिम्मामा लगाएको थियो ।

बच्चा कसको र कसले उखुबारीमा छाडेको हो भनेर यकिन भइसकेको छैन । अभिभावक र आफन्त कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफन्त वा अभिभावकको खोजी भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र तत्काललाई संरक्षणका लागि बुधबार विराटनगर महानगरपालिका–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको डीएसपी चुँडालले बताइन् ।

‘नाबालिकाका आफन्त एवं अभिभावकको पहिचान गर्ने प्रयास भइरहेको छ । तत्काललाई संरक्षणका लागि बाल सेवा आश्रमको जिम्मा लगाएर थप अनुसन्धान अघि बढाइएको छ,’ उनले भनिन् । चुँडालका अनुसार नाबालिकालाई कसले उखुबारीमा छाडेको हो भनेर पनि यकिन हुन सकिरहेको छैन ।

घटना रहस्यम देखिएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । नाबालिकालाई कसैले त्यागेर उखुबारीमा छाडिएको पनि हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.